
१४ साउन, विराटनगर । धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो विराटनगरबाट रेफर गरिएका कोरोना संक्रमितको उपचारका क्रममा पौने ५ बजे मृत्यु भएको हो ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण मृत्यु भएका व्यक्ति मोरङको सुनवर्षी नगरपालिकाका हुन् । ज्वरो र श्वाश्प्रश्वासमा समस्या भएपछि मंगलबार काेसी अस्पतालको फिभर क्लिनिकमा जाँच गर्न आएका उनको स्वाब संकलन पश्चात कोसी अस्पतालकै आइसाेलेसनमा भर्ना भएका थिए । बुधबार बिहान उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजेटिभ आएपछि उनलाई बुधबार दिउँसो करिब १ बजे विराटनगरबाट थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तिको वीपीमा उपचारका क्रममा ४ः४५ मा मृत्यु भएको प्रवक्त सापकोटाले बताए ।
वीपीमा यसअघि दुई जनाको मृत्यु भएको थियो । तर उनिहरु प्रदेश नँ २ का नागरिक थिए । मृतक महोत्तरी र सप्तरी जिल्लाका थिए ।
आजै पर्सामा थप दुई जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।
वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय र गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको पुष्टि गरे।
दुबै जनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नतिजा पोजेटिभ देखिएको हो। तीमध्ये नेसनल मेडिकल कलेजमा बुधबार बिहान मृत्यु भएका पुरूषको भने भर्खरै नतिजा पोजेटिभ आएको उपाध्यायले जानकारी दिए।
वीरगन्ज निवासी ती वृद्धलाई पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।
डा. उपाध्यायका अनुसार उनी मिर्गौला रोगी समेत हुन्।
त्यस्तै, गण्डक अस्पतालमा बुधबार मृत्यु भएका अर्का कोरोना संक्रमितमा भने मुटुको समस्या रहेको उनले जनाए।
उनलाई गत साउन ८ गते अस्पताल भर्ना गरिएको थियो। त्यही क्रममा उनको कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ।