वीरगञ्जमा कोरोना संक्रमणका कारण जगदम्बा इन्टरप्राइजेजका सिइओ सहित थप ३ जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा जगदम्बा इन्टरप्राइजेजका सिइओ ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् ।
५६ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) हुन् । मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।
स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जगदम्बा इन्टरप्राइजेजका सिइओलाई कोभिड अस्पतालको आइसियुमा राखिएको थियो । बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाइ भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका क्रममा बिहीबार राति करिब ११ बजे मृत्यु भएको कोबीड अस्पतालका चिकित्सक डाक्टर सिंहले जानकारी दिए ।
त्यसै गरि कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट वीरगञ्जम थप दुई जनाको मृत्युु भएको छ । बिहीबार ३५ र ६५ बर्षीय पुरुषको मृत्यु भएको हो ।
वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार बेलुकी ७ः४० बजे निधन भएको डाक्टर निरज सिंहले जानकारी दिए ।
ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए । तर स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना भएका उनलाई त्यहाँबाट सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदन उपाध्यायले जानकारी दिए ।
यस्तै वीरगञ्जमा बिहान घरमै मृत्यु भएका थप एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज–२ छपकैयाका ६५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरेको थियो । बेलुका पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा. उपाध्यायले बताए ।
कोरोना संक्रमणबाट साउनमा मात्रै पर्सामा ८ जनाको निधन भएको छ । कोरोना संक्रमणकै कारण बाराका २ जना र रौतहटतका १ जनाको मृत्यु पनि वीरगञ्जमै भएको थियो ।
त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।