असोज २२, काठमाडौं । काठमाडौंको येल्लो पेगोडा होटलमा आफूलाई कालोमोसो दलिएपछि अभियन्ता तथा मेडिकल ब्यावशायी दुर्गा प्रसाईले बदला लिएरै छाड्ने एमाले अध्यक्ष केपी ओली र नेता महेश बस्नेतलाई चेतावनी दिएका छन् ।
दुर्व्यवहारको घटना पछी प्रसाईले सामाजिक सञ्जालमा लेखेका छन् ,‘ हजुरबुबा के. पी. ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ ! तपाईंहरूले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्ने छन् !
प्रतीक्षा गर्नुहोस् !!’
राजनीतिक रुपमा उग्र विचार राख्दै आएका उनले एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाका कर्जा चुक्ता नगर्न सर्वसाधारणलाई उक्साउँदै आएका छन् । माओवादी छाडेर गत आमनिर्वाचनअघि एमाले प्रवेश गरेका प्रसाई एमाले अध्यक्ष ओलीका अन्धभक्त थिए । ओलीलाई हजुरबा भनेर सम्बोधन गर्थे । चुनावमा टिकट नपाएपछि उनी एमाले छाडेर राजावादी आन्दोलनमा सहभागी भएका हुन् । झापा क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारी गरेका प्रसाई पछि झापा ३ का लागि पूर्वाधार तयार गर्दै थिए तर, एमाले अध्यक्ष ओलीले झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग तालमेल गर्ने भएपछि प्रसाईले टिकट पाएका थिएनन् ।