नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ। यो निर्णय सँगै प्रचण्ड नेतृत्वको सरकार सँकटमा परेको छ ।‌

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकार छाड्ने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेता उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए।

उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी एक महिला अघि नै सरकारबाट बाहिरिएको थियो। रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राखेको छ। तर पछिल्लो परिवर्तित राजनीतिक अवस्थामा सत्ता साझेदार दल राप्रपा र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड नेतृत्वको सरकार सँकटमा परेको हो ।

शुक्रबार सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रसहित ८ दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेपछि शनिबार अर्को सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको थियो। राप्रपाले सरकारबाट बाहिरिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

दुई सत्ता साझेदारले आफूलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनु पर्ने भएको छ।