झापा, मंसिर २७ । आदिवासी समुदायका अमृतलाल राजवंशीलाई नेकपा एमालेले मधेसीको क्लस्टरबाट समानुपातिक सांसद बनाउन लागेको भन्दै राजवंशी समुदायले आपत्ति जनाएका छन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी भनेर सूचीकृत गरेको राजवंशी जातिलाई मधेसी बनाएर एमालेले आफूहरुको जातीय अस्तित्वमाथि खेलवाड गरेको उनीहरुको ठहर छ ।

प्रतिष्ठानले ५९ वटा जातिलाई आदिवासी जनजातिको रुपमा सूचीकृत गरेको छ । त्यस सूचीको ३९ औं नम्बरमा राजवंशी जातिलाई राखिएको छ । राजवंशी विकास प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा राजवंशी समाज विकास समितिका पूर्व केन्द्रीय सदस्य सुरेन राजवंशी आफूहरु मधेसी नभएर आदिवासी भएको बताउँछन् । उनी एमालेको जातीय संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापाका सह-इन्चार्जसमेत हुन् । आदिवासी राजवंशीहरु मधेसी हुनै नसक्ने उनले बताए ।

त्यस्तै शिवसताक्षीका शिक्षक कुवेर राजवंशीले राजनीतिक दलहरुले अब कुनै दिन राजवंशी जातिलाई दलित क्लस्टरमा पार्न बेर नलगाउने प्रतिक्रिया दिएका छन् । उनले राजनीतिक दलहरुले आफ्नो स्वार्थ पूरा गर्न राजवंशी जातिलाई मधेसी क्लस्टरमा राखेर सिंगो राजवंशी जातिको अस्तित्वमाथि खेलवाड गरेको आरोप लगाए ।

त्यस्तै राजवंशी जातिका गायक बलबहादुर राजवंशीले राजवंशीहरु आदिवासी हुन् भनेर अवगत हुँदासमेत पदको लागि आफ्नो जातीय पहिचान मेटाउने गरी समानुपतिक सांसद पद स्वीकार नगर्न अमृत राजवंशीलाई सुझाव दिएका छन् । मधेसी क्लस्टरबाट समानुपातिक सांसद बन्न लागेका अमृत राजवंशीले भने आदिवासी जनजातिमा ठाउँ नभएर आफूलाई एमालेले मधेसीको कोटामा पारेको प्रतिक्रिया दिएका छन् । आफू मधेसको अल्पसंख्यक कोटाबाट सिफारिसमा परेको उनले दावी गरे ।

उनी तेस्रो पटक सांसद बन्न लागेका हुन् । यसअघि उनी नेपाली कांग्रेसका तर्फबाट दुईपटक संविधानसभा सदस्य मनोनित भएका थिए । गत स्थानीय तहको निर्वाचनअघि कांग्रेस परित्याग गरी उनी एमालेमा आएका हुन् ।

( प्रतिदिन डेली डटकम बाट )