असोज १६, बिराटनगर । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा घनश्याम खतिवडा निर्वाचित भएका छन । उनले अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन ।
खतिवडाले ५१२ मत प्राप्त गरेका छन भने ढकालले ४३० मत ल्याए ।
यस्तै प्रदेश कमिटीको उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन । उपाध्यक्षमा उनको एकल उम्मेदवारी थियो ।
यस्तै सचिव पदमा राजकुमार भण्डारी निर्वाचित भएका छन । उनले ५२४ मत ल्याएर विजयी बन्दा उनका प्रतिद्वन्दी शैलेश लामाले ३८१ मत प्राप्त गरे।
उपसचिवमा जलवर्षा राजवंशी चौधरी ६२८ मत र खोटाङका देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन । उपसचिवका अर्का प्रतिद्वन्द्वी उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मात्र मत ल्याए। दुई उपसचिवका लागि तीन जना प्रतिस्पर्धामा रहेका थिए।
यस्तै मजदुर तर्फबाट सदस्यमा भीमज्वाला राई, अम्बिर लिङ्देन र किशोर धमला विजयी भएका छन। यस्तै खुल्ला सदस्यमा तेह्रथुमबाट लक्ष्मण तिवारी, आदिवासि महिलामा मौसम राई, मजदुर महिलामा निर्मला परियार, सदस्य हलमा कबिता राई विजयी भएका छन ।
अधिवेशनका लागि प्रदेशभरबाट ९९७ जना प्रतिनिधि छनोट भएर आएका थिए । तीनमध्ये ९७७ जना मतदानमा सहभागी भएको र २० जनाले मतदान नगरेको निर्वाचन कमिटीले जनाएको छ ।