• चैत्र ३०, २०७७
  • Madan Rajbanshi
  • 0

झगेन्द खड्का
गौरादह/गौरादह नगरपालिकाले अनावश्यक सवारीसाधन खरिद गरेर सरकारी रकम दुरुपयोग गरेकाे छ। जनतालाई करकाे भार बाेकाएर जनप्रतिनिधि बिलासी सवारीसाधन खरिद गरेर उपभाेग गर्दैछन। नगरपालिकामा केही वडाका वडाध्यक्ष बाहेक जनप्रतिनिधि देखि उच्च तहका कर्मचारी सम्मले सरकारी गाडी चढी रहेका छन। नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएयता सरकारी रकमबाट गाडी खरिद गरेर हाल सम्ममा उच्च तहका कर्मचारी सहितले जिउ जनम्ए सरकारी गाडी कुदाउन पाएका छन।

मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत ४ चक्के गाडीमा चढेर हिड्छन भने वडाध्यक्ष तथा उच्च तहका कर्मचारीहरु सरकारी तवरबाट खरिद गरिएकाे माेटरसाइकल प्रयाेग गर्छन। नगरपालिकाले आवश्यकता भन्दा बढी दुई पाङ्ग्रे सवारीसाधन मोटरसाइकल खरिद गरेर सरकारी रकम खर्च गरेकाे छ। नगरपालिकाले सरकारी रकमबाट खरिद गरेका माेटरसाइकल महंगो मुल्यका उताउला,भड्किला माेटरसाईकल खरिद गरेकाे छ। नगरपालिकाले १२५ सिसिका सामान्य माेटरसाईकल खरिद गर्दा काम चल्ने भएपनि त्याे भन्दा बढी सिसिका ठुला माेटरसाईकल खरिद गरेर बढी रकम खर्च गरेकाे छ।

बढी सिसि भएका ठुला माेटरसाइकल खरिद गर्दा ईन्धन बढी लाग्ने र राज्यलाई तिर्ने कर पनि बढी लाग्छ। सरकारी काम काजमा प्रयोग हुने बाइकहरु सस्ता र बलियो ब्रान्डका खरिद गर्नुपर्नेमा महंगा र सरकारी काम काजमा प्रयोग गर्न नसुहाउने विलासी खालका उत्ताउला र भड्किला प्रकृतिका बाइक खरिद गरेको देखिन्छ । सामान्य मोडलका मोटरसाइकलमा इन्धन पनि कम खपत हुने र राजस्व समेत कम तिर्नुपर्ने जानकारी हुँदा हुँदै विलासी प्रबृत्तिका हेवी मोडेलका मोटरसाइकल खरिद गर्दा आर्थिक अनियमितता हनुकाे साथै सरकारी रकम दुरुपयोग गरेकाे नगरवासीकाे ठहर छ।

गौरादह नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएपछि अहिले सम्म २३ थान मोटरसाइकल खरिद गरिएको देखिन्छ । निर्वाचित जनप्रतिनिधिहरु आएपछी हरेक वडा तथा विषयगत शाखा कार्यालयमा वितरण गरिएका मध्ये ४ वटा मोटरसाइकल पुराना र १८ वटा नयाँ रहेको देखिन्छ । गत आर्थिक वर्षको अन्त्यमा कृषि शाखा हेर्ने महिला कर्मचारीको लागि १ थान स्कूटी तथा प्राबिधिक कर्मचारीहरुको लागि भन्दै ६ थान गरि जम्मा ७ वटा माेटरसाइकल गत आर्थिक बर्षकाे बजेट बाट खरिद गरेको देखिन्छ।सरकारी रकमबाट खरिद गरिएका माेटरसाइकलहरु यमाहा कम्पनीका एफ जेट भर्सन 2र 3 का ३ लाख माथि मूल्य पर्ने रहेका छन।

सरकारी रकमबाट गाडी खरिद गरेर कर्मचारीलाई बितरण गर्नु,सरकारी गाडी निजी काममा प्रयाेग गरिनु नगरपालिकाकाे चरम बतिथि भएकाे नगरबासीकाे गुनासाे छ।सरकारी रकमबाट खरिद गरिएका माेटरसाइकलहरु बिगत बर्षमा जनप्रतिनिधिहरु चढ्दै आएका थिए।गौरादह नगरपालिका वडा नं -९ ले सरकारी गाडी तथा ईन्धनकाे सुबिधा लिएकाे छैन। नगरपालिकाले पछिल्लो समयमा खरिद गरेका माटरसाइकलहरु अधिकृत लेबलका कर्मचारीहरुले प्रयाेग गर्दै आएका छन।

नगरपालिकाले कर्मचारीहरुका लागि मासिक १५ लिटर ईन्धन समेत उपलब्ध गराउदै आएकाे छ।महालेखा परिक्षककाे ५७ औ परिक्षण प्रतिबेदनमा नगरपालिकाले सवारीसाधन मर्मत तथा ईन्धनमा बढी खर्च भएकाे ठहर गरेकाे छ। नगरपालिकाकाे बेतिथी र बिसंगती बिरुद्ध खबरदारी गर्न स्वतस्फूर्त रुपमा जम्मा भएका नगरबासीहरुबाट गठित संधर्ष समितिले मेाटरसाइकल खरिदमा नगरपालिकाले मितब्ययीता नअपनाएकाे ठहर गरेकाे छ। नगरपालिकाले बढी सिसि भएका ठुला माेटरसाइकल सरकारी रकमबाट खरिद गर्नु चरम लापरबाही भएकाे गौरादह -१ का देबेन्द्र कुमार खड्का बताउछन्।