सरकारले आज राती (मंगलबार) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन औपचारिक रुपमा अन्त्य गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन्। सरकारले दैनिक संक्रमितको सख्या घट्दै गएको र अवस्था सामान्यतर्फ उन्मुख भएको निष्कर्षका साथ लकडाउन खोल्ने निर्णयमा पुगेको हो ।

तर लकडाउन खुले पनि साउन ३२ गते सम्म नाका सिल रहनेछ ।‌मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मनोवैज्ञानिक त्रास कम गर्नका लागि आज रातिबाट लागु हुनेगरी बन्दाबन्दीको अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने खतिवडाको भनाइ छ ।
त्यस्तै भदौ १ गदेबाट आन्तरिक एवम् बाह्य व्यवसायिक उडान सुरु गर्ने निर्णय गरेको छ । भदौ १ गतेदेखि नै जनस्वास्थ्य सम्बन्धी प्रोटोकलको पालना गर्दै मध्यम तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।
लकडाउन अन्त्य भएपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गरिने कुरा बताइएको छ ।‌
त्यस्तै सरकारले भदौ १ गतदेखि नै खेल क्षेत्र खुला गर्ने निर्णय गरिएको छ । भदौ १ गतदेखि अन्तर्राष्ट्रिय खेल प्रशिक्षण लगायतका खेल गतिविधिहरू सुचारु हुने खतिवडाको भनाइ छ । रङ्गशाला, प्रशिक्षण केन्द्र आदि खुला हुनेछ । सरकारले भदौ १५ गतेदेखि नै परीक्षा लगायतका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको मन्त्री खतिवडाको भनाइ थियो । तर, स्कुल, कलेज, ट्युसन सेन्टर, शिक्षण प्रशिक्षण केन्द्रहरू भने अनिश्चितकालसम्म बन्द नै रहेछन् ।

साउन १५ गतेदेखि होटल, रेस्टुरेन्ट खुल्ने निर्णय गरिएको छ । तर सिनेमा घर, जिमखाना, धार्मिक क्षेत्र, डान्स बार, सैलुन, पुस्तकालय, चिडियाखाना, समूहमा खेलिने खेल आदि बन्द नै रहेन मन्त्री खतिवडाले जानकारी दिए ।
भदौ १ गतेदेखि हवाइ उडान हुने तर स्कुल, कलेज अनिश्चितकालसम्म बन्द रहनेछ ।