झापामा निर्वाचनको तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद नेपालले झापामा ९५ प्रतिशत तयारी पुरा भएको जानकारी दिएका छन् ।
उनले मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मी मतदान केन्द्रमा पुग्न मात्रै बाँकी रहेको जानकारी दिए । मंसिर १ गते साँझ ५ बजेसम्म तोकिएको केन्द्रहरुमा पुगिसक्ने गरीको व्यवस्था मिलाएको उनको भनाई छ । सबै कर्मचारी, सुरक्षाकर्मीलाई बेलुका ५ बजेसम्म केन्द्रहरुमा पठाउने लक्ष्य राखेका छौं, उनले भने ।
मंसिर ४ गते हुने निर्वाचनका लागि झापामा कुन–कुन केन्द्रमा कसलाई –कसलाई खटाउने भन्ने सम्पूर्ण तयारी पुरा भइसकेको निर्वाचन कार्यालय झापाले जनाएको छ । उहाँहरुलाई अब मतदान केन्द्रहरुमा खटाउन मात्र बाँकी छ , उनले भने ।
जिल्ला निर्वाचन अधिकारी नेपालका अनुसार मतदानमा आवश्यक पर्ने सबै आवश्यक सामग्रीहरु निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको छ । अनुसुची फारम, मतपत्र, मतपेटिका लगायत सबै सामग्रीहरु प्याकेजिङ गरेर निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको नेपालले जानकारी दिए । जिल्लाका ७६८ मतदान केन्द्रहरुमा अलग–अलग प्याकेजिङ गरेर पठाइएको छ । यसअघिका निर्वाचनमा जिल्लाबाटै केन्द्रहरुमा सामग्री वितरण गरिन्थ्यो भने यो निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयहरुबाट केन्द्रहरुलाई सामग्री प्रदान गरिदैछ ।
आज बेलुका ५ बजेसम्ममा कर्मचारी र आवश्यक सामग्री मतदान केन्द्रमा पठाउने जिल्ला निर्वाचन कार्यालय झापाले तयारी गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाले मतदाता शिक्षालाई जिल्लाभर प्रभावकारी ढंगबाट सञ्चालन गरेको जनाएको छ । जिल्लाका १३१ वडामा मतदाता शिक्षा कार्यकर्ता नियुक्त गरेर प्रत्येक मतदाताको घरदैलो, टोलसम्म पुगेर मतदाता शिक्षा प्रदान गरेको नेपालले बताए । यस्तै, १५ स्थानीय तहले लक्षित क्षेत्र तोकेर नमूना मतदान कार्यक्रम सञ्चालन गर्दै मतदाता शिक्षालाई थप प्रभावकारी बनाएको उनको भनाई छ ।
यस्तै , नेपालले उम्मेदवारहरुलाई आचारसंहिता पालना गरि स्वच्छ, मर्यादित ढंगबाट निर्वाचन सफल बनाउन आग्रह गरेका छन् । उनले मतदातालाई मन परेको उम्मेदवारलाई सहि चिन्हमा मतदान गरेर आफ्नो अमुल्य मतलाई मतपत्र मार्फत प्रकट गर्न सुचित गरेका छन् ।
झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाताले मतदान गर्न पाउने छन् । सो संख्यामा महिला पुरुष बाहेक ८ जना अन्य रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन् । सबैभन्दा धेरै मतदाता क्षेत्र नं ५ मा छन् भने सबै भन्दा कम मतदाता क्षेत्र नं १ मा रहेका छन् ।