नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो । विभिन्न स्थानमा सूचना टाँस गरी मन्दिर बन्द गरिएको जानकारी गराइएको थियो । सूचना थाहा नपाएका केही भक्तजन आज बिहानै मन्दिर पुगेका थिए । केही नित्य दर्शनार्थी पनि पशुपतिनाथ परिसर पुगेकामा सुरक्षाकर्मीले फर्काएपछि बाहिरबाटै दर्शन गरेर फर्केका छन् । मन्दिरका ढोका नै बन्द गरी पशुपति क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको कोषले जनाएको छ ।

पशुपतिनाथ, गुह्येश्वरी लगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।

विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गतेदेखि बिहान छ बजेदेखि १ बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो । मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविक बमोजिम नै पूरा समय खुला गरिएको थियो । अन्य क्षेत्र खुला गरिँदा समेत पशुपतिनाथ, गुह्येश्वरी लगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घ लगायतका सङ्घसंस्थाले विरोधसमेत जनाएका थिए ।

मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आम मानिसमा आह्वान गरेको छ । घाट सेवामा आउने सबैलाई अनिवार्य रूपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ । पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएपछि भेटीघाटीबाट कोषलाई हुने आम्दानी पनि बन्द हुने भएको छ ।