भदौ ९ बिर्तामोड । अर्जुनधारामा १६ बर्षकी किशोरी माथी भएको सामुहिक बलात्कार काण्डमा थप २ जना पक्राउ परेका छन् । किशोरीको बयानका आधारमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा अर्जुनधाराको लंका होटलमा काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेका छन् । यसअघि प्रहरीले हिजो बिहानै सोही घटनामा चारजना आरोपीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा अर्जुनधारा-७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजबंशी पक्राउ परेका थिए । घटनामा संलग्न अर्जुनधाराकै संजिव तामाङ फरार रहेको प्रहरीले जनाएको छ ।
किशोरी का अनुसार घटनामा संलग्नमध्ये चिनजानका दुईजनाले उनलाई शुक्रबार साँझ घुम्न जाने भन्दै घरबाट लगेका थिए । सोही स्थानको लंका होटलमा खाजा खाएर उनीहरु साँझमा एकछिन घुम्न भन्दै नयाँ बाख्रा हट्टीतिरको एकान्त स्थानमा लागे । त्यहा चारजनाले उनीमाथि जवरजस्ती करणी गरे । उनले चारजनासँग प्रतिवाद गर्न सकिनन् ।
प्रहरीका अनुसार त्यसपछि पीडितलाई अर्जुनधारा-७ स्थित लंका होटलका कुक सुदिप श्रेष्ठ र सुजन डाँगी र सोही स्थानका संजिव तामाङले लंका होटल रिसोर्टमा सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले पीडितलाई शारीरिक परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ । फरार संजिव तामाङको खोजतलास जारी रहेको जनाईएको छ ।